२० लाख बढी रकम ठगेर पौडेल वेपत्ता - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

२० लाख बढी रकम ठगेर पौडेल वेपत्ता


इलाम। युरोपमा बैदेशिक रोजगारीमा लैजाने भन्दै झापाका एक युवाले इलाम र झापाका युवाहरूलाई ठगेको भन्दै पीडितहरूले गुनासो गरेका छन् ।झापाको सुरूङ्गा–५ स्थायी ठेगाना भएको बताउने प्रदिप पैड्यालले युवाहरूलाई विदेश पठाउने भन्दै ३ लाख ५० हजार देखि १ लाख ५० हजार सम्म उठाएर तीन बर्षदेखि सम्पर्क बाहिर रहेको उनीहरूको गुनासो छ ।

तीन बर्ष अघि ३ लाख ५० हजार ऋण काडेर पौड्याललाई बुझाएका इलामको सूर्योदय नगरपालिका ८ कजेनीका रामकुमार प्रधानले पहिले हंगेरी लाने भन्दै ८ लाख मागेको पछि त्यो ठाउँमा लान नसक्ने भन्दै स्टोनिया लाने भन्दै ३ लाख ५० हजार लिएको बताए ।

प्रधानको छिमेकमै आमाको नाममा जग्गा भएका पौड्यालले छोरालाई विदेश लगिदिने भनेपछि विश्वासका भरमा सो रकम दिएको उनले बताए । प्रधानले भने, ‘मैले कुनै प्रमाण विनै धेरै रकम नगद नै दिए, आइएमईमार्फत पठाएको केही रकम मात्रै प्रमाणको रूपमा राखेको छु ।’

उनले इलाम र झापाका युवाहरूको २० लाख भन्दा माथि रकम उठाएर पौडेल वेपता भएको दावी गरे । पौड्यालले नेपालमा आफुले मान्छे पठाउने देशको दुतावास नभएको भन्दै भारतको दिल्लीबाट प्रकृया अघि बढाउने बताउने गरेको प्रधानको भनाई छ ।

पैसा नपाउञ्जेल पौडेलले रकम ढिलो पठाए काम रोकिने भन्दै रकम माग्ने गरेको पिढीतको भनाइ छ । मेचीनगर नगरपालिका ६ का प्रदिप भण्डारीले पनि आफुबाट ३ लाख ५० हजार रूपयाँ लगेको बताए । उनले पौड्याले आफुहरूलाई ठगेर कतार भागेको बताए ।

इलामको माइजोगमाई गाउँपालिका ३ नाम्सालिङका नवीन कुमार श्रेष्ठले पौड्यालले हंगेरीको छाला कम्पनीमा राम्रो काम लगाउने भन्दै एक लाख ५० हजार ठगेको बताए । उनले युरोपमा नपढेका मान्छेलाई पनि काम मिल्ने भन्दै रकम लगेको बताए । ३६ प्रतिशत व्याजमा ऋण काढेर पौड्याललाई रकम बुझाएका उनी त्यहि रकम तिर्न खेती किसानी गर्नु परेको बताउँछन् ।

सूर्योदय नगरपालिका १० रमितेका रामहरि प्रधानले पनि छोरालाई युरोपको राम्रो कम्पनीमा काम लगाउने आश्वासन पाएपछि १ लाख ५० हजार बुझाएको बताए । उनले भने, ‘मासिक एक लाख ५० हजार तलव दिने कम्पनीमा पठाउछु भनेपछि एडभान्स स्वरूप १ लाख ५० हजार रूपयाँ बुझायौं ।’ उनका अनुसार रकम पाएको छ महिनासम्म सम्पर्कमा रहेका पौडेल अहिले सम्पर्क विहीन छन् ।

पौड्यालले रकम पाएपछि ३ महिनामा काम हुने आश्वासन दिएको रामहरिले बताए । उनले रकम दिएपछि तीन महिनामा काम नभए रकम झिक्नु भन्दै नलेखिएको चेक थमाएका थिए । तर, छ महिना सम्म पनि प्रकृया जारी रहेको भन्दै आफुहरूलाई झुक्याएको उनले बताए ।

पीडितहरूसंग उनले दिएको चेक र आफुले रकम पठाएको कागज मात्रै प्रमाण छ । पौड्यालले आफ्नो मेनपावर कम्पनी काठमाडौको एयरपोर्ट नजिक रहेको बताए पनि नाम समेत नबताएको पीडितले बताए । पौडेलले युवाहरूको राहदानी समेत आफ्नै कब्जामा राखेका छन् । पौड्याल वेपत्ता हुनुअघि काठमाडौंको कालिमाटी ९ मा बस्ने गरेको पीडितहरूले बताएका छन् ।