काठमाडौं । नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमतिका हस्ताक्षर भएको छ ।
शुक्रबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका हुन् ।
सहमतिमा देशको राजनीतिक समस्याहरु दुवै पक्षले वार्ता र संवादबाट समाधान गर्न सहमत भएको, नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएका छन् ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन र कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाइ गरी सम्पूर्ण मुद्दा खारेज गर्न तयार रहेका छन् ।
हस्ताक्षर समारोहमा सरकारका मन्त्रीहरु र विप्लव समूहका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ ।
समारोहमा ओलीले विप्लव समूहसँगको वार्ताले नेपाललाई नयाँ युगमा प्रवेश गराएको बताए । ओलीले विप्लव समूहसँगको वार्ता सहमतिमा गइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको बताए ।
पृथकतावादी सोच बोकेर संगठन बिस्तार गरिरहेको सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याएको उल्लेख गर्दै उनले देश नयाँ दिनमा मात्र नभएर नयाँ युगमा प्रवेश गरेको दावी गरे ।
प्रधानमन्त्री ओलीले मुद्दामामिला अन्त्य गरी नेता तथा कार्यकर्तालाई छोडिने प्रतिबद्धता व्यक्त गर्दै छुट्ने शिलशिला सुरु भइसकेको जानकारी दिए । केही समय लाग्ने भए पनि समयसँगै नेता तथा कार्यकर्तालाई छुटाउने प्रतिबद्धता व्यक्त गरे ।
विप्लवले सरकार र आफ्नो समूहविच भएको तीन बुँदे सहमति इमान्दारिताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले शहिदहरुको सपना र आकाक्षा पूरा गर्न र जनताको समृद्धिको चाहना अब खुल्ला राजनीतिबाट पूरा गर्ने बताए ।
उनले अहिलेपनि नेपाली जनताहरु सुरक्षित नभएको उल्लेख गर्दै भने, ‘झुपडी, महल, शहर गाउँ जताततै सुरक्षाको अनुभूति छैन् तर हामी शान्ति चाहन्छौं ।’ उनले कम्युनिष्टहरु विश्वमा युद्ध अन्त्य गर्न चाहने बताउँदै नेपालमा विदेशीले हस्तक्षेप गर्यो भने शरीर माटोमा गाडिन्छ तर छाडिन्न भने ।