काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ ।
सिंहदरबारमा जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको उक्त समूहको बैठकले संसदीय दलको नेता परिवर्तन गर्दै प्रचण्डलाई नेता चुनेको हो ।
बैठकअघि उक्त पक्षले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलन गर्दै नेकपा संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गरेको छ । सांसद् सोमप्रसाद पाण्डेका अनुसार ११४ जना सांसदले दाहाललाई नेता बनाउन हस्ताक्षर गरेको छन् ।
नेकपामा अध्यक्ष केपी ओली र दाहाल–नेपाल दुबै पक्षले आफूलाई आधिकारिक भएको दाबी गर्दै आएका छन् । प्रतिनिधि सभामा नेकपाका १७३ सांसद रहेका छन् ।
संसदीय दलले विप्लव नेनृत्वको नेपाल कम्युनिष्ट पार्टीको शान्तिपूर्ण बाटोमा आउने कदमलाई स्वागत समेत गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा पहिलो सर्त पनि बनाएको छ । राजनीतिक निकासका लागि संसद बैठक अघि प्रधानमन्त्रीलाई राजीनामा गर्न आग्रह गरेको छ ।
बैठकमा नेकपाका १ सय ११ जना सांसदले सशरीर उपस्थित भएर हस्ताक्षर गरेका थिए । बाँकी ४ जना उपत्यका बाहिर रहेको र हस्ताक्षर गर्न प्रतिबद्ध रहेकोले यो पक्षमा बहुमत संख्या देखिएको हो ।
बैठकमा सांसदहरु योगेश भट्टराई, चक्रपाणी खनाल बलदेव, विना पोखरेल र कृष्णबहादुर महरा काठमाडौं बाहिर भएका कारण बैठकमा उपस्थित भएका थिएनन् । यसअघि ओली पक्षमा गएकी सांसद माया ज्ञवाली पनि प्रचण्ड नेपाल पक्षमा फर्किएकी छिन् ।