एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा चित्रबहादुर - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा चित्रबहादुर


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् ।

बुधबार माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनीतिक संगठनहरूले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

‘एमसीसीको पैसा आएर यहाँ विकास हुने भए, विद्युतको विकास हुने, बाटोको विकास हुने भए, नेपाली जनताले यस्तो जुलुस गर्नुपर्थ्यो,’ उनले भने, ‘होइन नि, देखाउने खसी, ख्वाउने फर्सी हो अमेरिकाको नीति, एमसीसीको माध्यमबाट नेपाललाई आफ्नो रणनीतिक योजनाभित्र राख्न चाहन्छ ।’

अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरू एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए ।

उनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको आरोप लगाए । अध्यक्ष केसीले विदेशी शक्तिहरूले पार्टीका प्रमुख व्यक्तिहरूलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको बताए ।

अध्यक्ष केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताए । उनले गठबन्धन नेपाली कांग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भने पनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पारे ।