भूमी विहीनलाई लालपूर्जा वितरण गर्न मन्त्री श्रेष्ठ सिरहा र महोत्तरीमा - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

भूमी विहीनलाई लालपूर्जा वितरण गर्न मन्त्री श्रेष्ठ सिरहा र महोत्तरीमा


काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडी बढिरहेको बताएकी छन् ।

सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. १ र २ (साविक रामपुर विर्ता र मल्हनियाँ खोरी)मा विशेष नापी मार्फत नापी गरिएको गाउँब्लक जग्गाको पुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालयको प्राथमिकतामा नपरेको गाउँब्लकमा लालपूर्जा वितरण कार्यलाई आफूले मन्त्रालय संहालेपछि पहिलो प्राथमिकता बनाएर काम गरिरहेको बताइन ।

जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले २०२१ साल यता नापीहुदा गाउँब्लकका रुपमा लामो समयदेखि थन्किएर बसेको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम शुरु गरेको र यस वर्षभित्र लालपूर्जा वितरण गरिसक्ने लक्ष्यसहित अभियान नै संचालन गरिरहेको पनि बताइन ।
जमिन भएर पनि लालपूर्जा नहुदा भूमिविहिन बनिरहेकाहरुको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै अब कोहीपनि भूमिहिन भएर बस्नु नपर्ने पनि मन्त्री श्रेष्ठले बताइन ।

सिरहामा तीन दिनसम्म गाउँब्लकमा रहेका एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिसक्ने कार्यक्रम रहेको छ । यसै क्रममा यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी थिइन ।

२०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुदा गाउँव्लकका रुपमा रही अफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिदै आएकी छन् । यसैबीच श्रेष्ठले हरुवा चरुवाको समस्या स्थायी रुपमा नै समाधान गर्ने गरी आफूले काम शुरु गरिसकेको बताइन ।

सिरहाको बरियारपट्टीमा हरुवा चरुवा, कमैया कमलरीहरुको अध्ययन गर्न गठित समितिले आयोजना गरेकोे छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले हरुवा चरुवाका बास्तविक समस्या पहिचान गरी अध्ययन समितिले दिने प्रतिवेदन अनुसार दिगो रुपमा नै समस्या समाधान गर्ने गरी सरकार अघि बढ्ने बताइन ।