काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्ष र विपक्षमा चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसले उक्त परियोजना संसदद्बारा पारित गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा एमसीसी पारित गर्नुपर्ने विषयमा नेताहरू एकमत देखिएका हुन् ।
झण्डै ५० करोड बराबरको अमेरिकी अनुदानका विषयमा राजनीतिक दलका नेताले बेग्लाबेग्लै तर्क गरिरहेका बेला पाँच दलीय गठबन्धनमा निर्णय नगरी एमसीसी पारित गर्नुपर्ने विषयमा कांग्रेस अघि बढेको हो । बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका डा.रामशरण महतले एमसीसी परियोजनाबारे विस्तृतमा चर्चा गर्दै सकरात्मक र नकरात्मक विषयमा बोलेका थिए ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसीबारे लिखित सामग्री डा. महतसँग मागेका छन् । कांग्रेसले शुरुआतदेखि नै एमसीसी पारित गर्नुपर्नेमा जोड दिंदै आएको छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले फरक रुपमा प्रश्तुत भएका छन् ।
एमसीसी सम्झौता भएको पाँच वर्ष बढी समय गुज्रिसक्दा पनि अघि बढ्न नसकेपछि अमेरिकाले परियोजना फिर्ता लैजाने बताउँदै आएको छ । तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसी परियोनाका निर्देशक जोनाथन नाशले सेप्टेम्बर १४, २०१७ मा हस्ताक्षर गरेको सम्झौता अहिलेसम्म अगाडि बढ्न नसकेको हो ।