‘विप्लव समूहसँग भएका हतियार खै ?’ - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

‘विप्लव समूहसँग भएका हतियार खै ?’


काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शान्तिपूर्ण राजनीतिमा आएको नेकपा नेत्र विक्रम चन्द विप्लव समूहसँग भएको हतियारका बारेमा प्रश्न उठाएका छन् ।

नेता केसी शुक्रबार प्रेस युनियन चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै हतियार व्यवस्थापन नभएकोमा आपत्ति जनाएका हुन् ।

सरकारसँग गरिएको तीन बुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा उल्लेख नभएको भन्दै यसलाई कांग्रेसले गम्भीर रुपमा लिएको नेता केसीको भनाइ छ । हतियार व्यवस्थापनलाई वेवास्ता गरेर सरकारले गम्भीर गल्ती गरेको उनको आरोप छ ।

‘सरकार र विप्लव समूहविचको तीन बुँदे सहमतिमा सकारात्मक रुपले हेरेका छौं । त्यसलाई स्वागतयोग्य र सकारात्मक मान्दामान्दै पनि तीनबुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा छैन’ केसीले भने ।

कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले विप्लव नेतृत्वको नेकपासँग सहमति गर्दा हतियार बुझाउने बुँदा नदेखिएको भन्दै सरकारसँग प्रश्‍न गरेका छन् ।

शुक्रबार ट्विटमार्फत प्रवक्ता शर्माले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्‍न गरेका हुन् । शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेको विप्लवसँगको सहमतिको पत्रमा हतियारबारे केही उल्लेख गरिएको छैन् ।