काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)परित्याग गरी दुई अघि नयाँ पार्टी खोल्ने अभिव्यक्ति दिएका कमल थापाले आइतबार ‘राप्रपा नेपाल’ को अध्यक्ष बनेका छन् । निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उनी नयाँ अध्यक्ष बनेका हुन् ।
आफैंले स्थापना गरेको उक्त पार्टीको लाक्पा शेर्पा थिए। शेर्पाले पार्टीको नेतृत्व त्याग्दै थापालाई अध्यक्षमा चयन गरेको जानकारी दिए । नयाँ पार्टी घोषणा फागुन ७ गते हुने भएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्दै थापाले राप्रपा नेपाल घोषणा गर्ने जानकारी गराए ।
थापाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राप्रपा, नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको बताएका हुन् । आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनेसमेत अध्यक्ष थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘आगामी स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुनेछौँ’, अध्यक्ष थापाले विज्ञप्तिमा भनेका छन्, ‘राप्रपा नेपालको घोषणासभा २०७८ साल फागुन ७ गते काठमाडौंमा हुनेछ।’
थापाले केही समयको अलमलपछि फेरि आफ्नै घरमा फर्किएको दाबी गरेका हुन् । ‘देशको धरातलीय यथार्थ एवम् सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ’, अध्यक्ष थापाले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ,‘केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौँ।’
थापाले पाँच वर्षपछि आफूहरुलाई नियतले सही ठाउँमा पुर्याएको दाबीसमेत गरे । विज्ञप्तिमा विगतका गल्ती र कमजोरीबाट पाठ सिक्दै एक पटक गन्तव्यतर्फ अग्रसर भएको उल्लेख गरे ।
थापाले राप्रपा नेपालको विरासतलाई निरन्तरता दिँदै अबदेखि ‘हिन्दू राष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मुल एजेण्डा हुने उल्लेख गरेका छन् । वि.स.२०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । त्यसपश्चात राप्रपा नेपालको नाममा अर्को पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।