प्रमुख निर्वाचन आयुक्तले राजनीतिक दललाई रेड कार्ड देखाउने - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

प्रमुख निर्वाचन आयुक्तले राजनीतिक दललाई रेड कार्ड देखाउने


काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा संयमित हुन राजनीतिक दललाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगद्वारा छैटौं निर्वाचन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र उम्मेदवारले आचार संहिताको उल्लङ्घन गरे फुटबल खेलाडीलाई जस्तै रेड कार्ड देखाउने अवस्था आउनसक्ने उनको भनाइ छ ।

‘फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्ड अलि खतरनाक हुन्छ,’ उनले भने, ‘त्यसकारण क्षतिको अनुमान समयमै महसुस गर्न दल र उम्मेदवारलाई आग्रह गर्नुभयो ।’

प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रूपमा लिएर काम गर्न सुझाव दिए । परीक्षामा असफल हुने छुट कसैलाई नभएको उनको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रुपमा लिएर काम गर्न सुझाव दिँदै तपाईले दिँदै आएको परीक्षाभन्दा यो पटकको निर्वाचनका जिम्मेवारी फरक छ, यो परीक्षामा असफल हुने छुट तपाई हामी कसैलाई छैन बताए ।

निर्वाचन आयुक्त डा.जानकी तुलाधरले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले सबैपक्षको सहमति सुनिश्चित गर्दै समन्वय र सहकार्यको खाँचो औंल्याइन । निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनलाई सहजरुपमा सफल तुल्याउन सामूहिक दायित्वकारुपमा बुझेर काम गर्न आवश्यक रहेको बताए ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले स्वच्छ, निष्पक्ष, भयमुक्त विश्वासिलो र मितव्ययी निर्वाचन गर्ने आयोगको पुनित जिम्मेवारीलाई हामी सबैले अवसरका रुपमा लिएर पूरा गर्नुपर्छ भने ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले निर्वाचनमा बेरुजु नआउने गरी काम गर्न र जिल्लामा निर्वाचनको वातावरण सिर्जना गर्न सुझाव दिए । निर्वाचन दिवसको मूल नारा ‘निर्वाचनमा सबै, सधैँ सँगै’ भन्ने रहेको छ ।