क्यासिनोबाट उठ्यो ८१ करोड रुपैयाँ राजस्व - रुपान्तरण
 २०७९ श्रावण २६, बिहीबार    

क्यासिनोबाट उठ्यो ८१ करोड रुपैयाँ राजस्व


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ ।

मन्त्री आलेले केही हप्ता पहिले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेको विभागले जनाएको हो ।

पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् भने गोल्डेन फिंगर गेमिङ जोन प्रालिले नयाँ क्यासिनो सञ्चालन गरेबापत दुई करोड ५० लाख रुपैयाँ रोयल्टी बुझाएसँगै सरकारको खातामा ८१ करोड रुपैयाँ रकम जम्मा भएको हो ।

विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता रकम एक अर्ब ११ करोड ८४ लाख ४७ हजार रुपैयाँ रहेको छ ।