टी-२० विश्वकप छनोट क्रिकेटः नेपाल सेमिफाइनलमा प्रवेश - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

टी-२० विश्वकप छनोट क्रिकेटः नेपाल सेमिफाइनलमा प्रवेश


काठमाडौं । ओमानमा जारी टी–२० विश्वकप छनोट क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले क्यानाडालाई ८ विकेटले पराजित गर्दै सतप्रतिशत नतिजासहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

सेमिफाइनलमा नेपालले मंगलबार युनाइटेड अरब इमिरेट्स यूएईसँग खेल्नेछ । यूएई अर्को समूहको उपविजेता हो । सेमिफाइनल मंगलबार दिउँसो ३ः४५ बजेदेखि शुरु हुनेछ । खेल जितेर छनोटको फाइनलमा पुग्न सके नेपालले अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउने छ ।

छनोट अन्तर्गतको तेस्रो खेलमा क्यानडाले दिएको ८१ रनको लक्ष्य दुई विकेट गुमाएर १४ ओभर १ बलमा पूरा गर्दै नेपालले ८ विकेटको जित निकालेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ३४, दिपेन्द्र सिंह ऐरीले २७, आशिफ शेखले १७ रन बनाउँदा कुशल मल्ल पहिलो बलमै पेभेलियन फर्किए । भुर्तेल र ऐरी अविजित रहे । क्यानडाका कलिम साना र सलमान नजरले एक–एक विकेट लिए ।

त्यसअघि ओमानको राजधानी मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले १४ ओभरको अन्तिम बलमा अलआउट हुँदै ८० रन बनायो ।

उसका लागि कप्तान नवनित ढलिवालले १८, रायन पठानले १४ रन बनाए । लमान नजारले १० तथा डिलोन हेलिगरले अविजित २४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३, कमल ऐरी र अभिनास बोहोराले समान दुई विकेट लिँदा कुशल मल्ल एक विकेट हात पारे ।

नेपालले यसअघि भएका आफ्ना दुवै खेलमा जित निकालेको छ । शनिबार फिलिपिन्सलाई १ सय ३९ रनले पराजित गरेको नेपालले शुक्रबार ३९ रनले आयोजनक ओमानलाई हराएको थियो । आफ्ना तीनै खेलमा जित निकालेसँगै नेपाल ग्लोबल छनोट ‘ए’ को समूह बीको विजेता बनेको छ ।