काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको संसदीय दलको बैठकमा ११५ सांसदको उपस्थिति रहेको जनाइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति रहेको सो दलले जनाएको छ ।
बैठकमा ११५ जना सांसदको सहभागिता रहेपनि केही सांसद काम विशेषले सहभागी हुन नसकेको र भोलिसम्म १३० सम्म संख्या पुग्ने आशा
गरिएको सहभागी एक सांसदले बताए ।
संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले उत्साहकासाथ अघि बढ्न सांसदहरुलाई आग्रह गरेका थिए ।
दिउँसो ३ बजेबाट शुरु भएको नेकपा संसदीय दलको बैठक डेढ घण्टा बसी साढे ४ बजे सम्पन्न भएको थियो । भोलि आइतबार बस्ने संसद बैठकमा दलको तर्फबाट गरिएको छलफल र निर्देशनका आधारमा सांसदहरुले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भनिएको छ ।