अभिनेता पल शाहलाई सात दिन हिरासतमा राख्न अनुमति - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

अभिनेता पल शाहलाई सात दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाउदैँ तनहुँ जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएपछि केहि दिन फरार रहेका शाह आइतबार प्रहरी कार्यलयमा आत्मसमर्पण गरेका हुन् ।

आइतबार जिल्ला प्रहरी कार्यलय तनहुँमा आफै पुगेका अभिनेता शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए ।

जिल्ला अदालत तनहुँले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । त्यसक्रममा प्रहरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ पनि गरेको थियो ।

आइतवार नै पल शाहविरुद्ध उनै नाबालिग गायिकाले नवलपरासीको गैंडाकोट प्रहरी कार्यालयमा पनि जबर्जस्ती करणीको मुद्दामा किटानी जाहेरी दिएकी छन् । प्रहरीमा दर्ता गराएको जाहेरी पत्रमा २०७७ चैत ७ गते एक म्यूजिक भिडियोको छायांकनको क्रममा गैंडाकोटको गैंडाकोट रिसोर्टमा जबर्जस्ती मदिरा सेवन गर्न लगाएर पटक–पटक करणी गरेको आरोप शाहमाथि लगाइएको छ ।