काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनापछि पहिलो पटक बोलाइएको संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
पुनस्स्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै कांग्रेस, नेकपा प्रचण्ड–नेपाल समूह, जसपाका नेताहरुले सदनमा नाराबाजी गरेका थिए ।
सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए बैठक सुचारु हुन नदिने बताएको थियो । काँग्रेस सचेतक पुष्पा भुसालले अध्यादेश संविधान प्रतिकूल रहेको भन्दै आफ्नो पार्टीको विरोध रहेको बताइन् ।
कांग्रेसको विरोधकाबीच अध्यादेश पेस गरिएको थियो । तर प्रचण्ड–नेपाल समूहका सांसदहरु भने त्यसअघि नै बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश पेश गर्न अनुमति दिएपछि काँग्रेसले रोष्टम घेराउ गरेर नाराबाजी सुरु गरेको हो । बैठकमा जबर्जस्ती अध्यादेश पेस गरिएपछि कांग्रेस र जसपा सांसदहरुले अगाडि गएर नाराबाजी गरेका थिए ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए । सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक २६ गतेका लागि सारिएको छ ।