शेयर बजारमा सेटिङ मिलाएर कारोबार!(११ बुँदे निर्देशनसहित) - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

शेयर बजारमा सेटिङ मिलाएर कारोबार!(११ बुँदे निर्देशनसहित)


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको शेयर बजारमा सेटिङ मिलाएर कारोबार भइरहेको दाबी गरेका छन् । पुँजी बजारबारे बुधबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले इन्साइडर ट्रेडिङ, पम्पिङ एण्ड डम्पिङ र सर्कुलर कारोबार भइरहेको उल्लेख गरे ।
बुधबारबाटै पुँजीबजार सुधार नयाँ ढंगबाट अघि बढाउन पनि उनले निर्देशन दिए ।

यसबीच ‘फलानो पार्टीको फलानो मन्त्री भएकाले सेयर बजार घटेको’ भन्दै राजनीतिकरण गरिएकोप्रति पनि अर्थमन्त्रीले आपत्ति जनाए ।आफूले सबै लगानीकर्ताको सुरक्षा र हितका लागि पुँजी बजारलाई स्वच्छ र पारदर्शी बनाउन खोजेको उनको दाबी छ । स्वार्थ समूहले आफूविरुद्ध भ्रम फैलाएर सबै लगानीकर्तालाई दिगभ्रमित पार्न खोजेको मन्त्री शर्माले दाबी गरे ।

मन्त्री शर्माले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशन दिए । अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।

अध्यक्ष हमाल र सिइओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै शर्माले पुँजी बजार सुधारका लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन पनि दिएका छन् । खुल्ला प्रतिस्पर्धाबाट छनौट भएर आएका नयाँ नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम नगर्न निर्देशन दिए । उनले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजी बजारबाट आउने बातावरण सृजना गर्न पनि निर्देशन दिए । पुँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उदेश्यले दुवै निकायमा नयाँ नेतृत्व छनौट गरेको उनले प्रष्ट पारे ।

पुँजी बजारबारे भ्रमात्मक सूचना प्रवाह रोक्न, सरकारको सकारात्मक धारणा सार्वजनिक गर्न र नियामक दुई निकायमा नवनियुक्त प्रमुखहरूको धारणा लिन अर्थमन्त्रीले छलफल समेत गरेका छन् ।

अर्थमन्त्री जनादर्न शर्माले दिनु भएको मुख्य ११ निर्देशनहरू
१) कोभीड १९ को महामारीबीच पुँजीबजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पुँजीबजारलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुँजीबजार संचालन भएको छ भन्ने अध्ययन गर्ने ।
२) पुँजीबजारबाट कसरी पुँजी निर्माण गर्न सक्छौं ? कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महत्वका आयोजनाहरूमा आवश्यक लगानी कसरी व्यवस्था गर्न सक्छौं भनेर अध्ययन गर्नुपर्नेछ । ठूला पुर्वाधार, उत्पादन, पुँजी निर्माणका लागि पुँजी संकलन गर्ने व्यवस्था मिलाउने ।
३) २० कात्तिक ०७५ देखि नयाँ टिएमएस भित्रिएको छ । यसले केही सहजता ल्याएपनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ । यस्ता गुनासो समाधान गर्नुपर्नेछ ।
४) लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पुँजीबजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्छ । विशेषगरी एसएमई तथा ओटिसी बजारको विकास गरी भेन्चर क्यापिटलसमेतको आधारमा साना कम्पनीहरूको लागी आवश्यक बजारको विकास गर्नुपर्छ ।
५) सुचीकरणमा आउन नसकेका तथा आइपिओको लागि योग्य भइ नसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको सेयरलाई ओटिसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने । आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने ।
६) अटोमेसन अक्सन शुरु गर्ने । अक्सन बजार लिलामीबाट शुरुमा बिक्री हुन नसकेका सेयर र खरिद बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने ।
७) ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने । डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने । कमोटिभी एक्सचेन्ज सम्बन्धी ऐनलाई अगाडी बढाउने । यो ऐन बनेको ४ बर्ष भयो ।
८) अर्थतन्त्रको प्रतिनिधित्व गर्ने बैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने । भारतमा बम्बई स्टक एक्सचेन्ज, अमारिकाको डाउजोनस तथा नासडाक जस्ता परिसूचक निर्माण भएका छन् । त्यसबाट शिक्षा लिने । मार्केट क्यापका आधारमा लार्ज क्याप इण्डेक्स, मिड क्याप इण्डेक्स र स्मल क्याप इण्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने ।
९) उत्पादनमूलक धेरै कम्पनीहरू सेयर मार्केट भन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने । इण्डेक्स फण्ड तथा टेडेट फाण्डको शुरुवात गर्ने ।
१०) ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने । ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरू मार्फत मार्जिन ल्याण्डिङ प्रकृया अगाडी बढाउने ।
११) सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर टे«डिङ रोक्ने । पुँजी बजार सम्बन्धी जनचेतना, पुँजी बजार साक्षरताको संचालन, तालिम केन्द्रको स्थापना गर्ने ।

"