एमसीसी खारेज गराउने पक्षमा साना कम्युनिष्ट घटक - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

एमसीसी खारेज गराउने पक्षमा साना कम्युनिष्ट घटक


काठमाडौं । अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)संसदबाट पारित भएपछि साना राजनीतिक दलहरु आन्दोलित छन् । प्रमुख दलका केही नेताहरु पनि पार्टीको निर्णयप्रति रुष्ट छन् । माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र एमालेका भीम रावल खुल्ला रुपमै एमसीसीको विरुद्धमा छन् ।

कमजोर जनाधार भएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा एमसीसी विरुद्ध आन्दोलन चर्काउन असन्तुष्टहरुसँग समर्थन जुटाउन काठमाडौंमा ब्यस्त देखिन्छ । विशेषगरी विप्लव आफैं असन्तुष्ट नेताहरुसँग भेटेर सडक संघर्ष चर्काउन सहयोग मागिरहेका छन् । बुधबार मात्र उनले नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भक्तपुर नै पुगेर भेटे । बुधबार दिउँसो बिजुक्छे भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई लिएर भक्तपुर पुगेका थिए ।
बिजुक्छे र विप्लवबीच नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसी लगायतका विषयमा कुराकानी भएको विप्लव सचिवालयले जानकारी दिएको छ ।

बुधबार बिहान मात्रै विप्लवले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग उनकै निवास हरिसिद्धिमा भेटवार्ता गरेका थिए । प्रतिनिधिसभाले एमसीसी अनुमोदन गरेसँगै विप्लवले सडक आन्दोलन गर्ने चेतावनी दिएर समर्थन जुटाउन केन्द्रीत देखिन्छन् । उनी साना कम्युनिस्ट पार्टीको समर्थन खोज्न दौडिरहेका छन् । विप्लव नेतृत्वको नेकपा र बिजुक्छे नेतृत्वको नेमकिपा दुवै एमसीसी खारज गर्नुपर्ने पक्षमा छन् ।

त्यस्तै एमसीसीको चर्को विरोधमा देखिएका एमाले नेता भीम रावल र विप्लवबीच भेटवार्ता भएको छ । बिहीबार विप्लव र नेता खड्ग विश्वकर्मा नेता रावलको निवासमा पुगेका थिए । भेटमा विप्लवले राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिएका थिए । भेटवार्तापछि ट्वीट गर्दै नेता रावलले देशभक्त एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने बताएका छन् ।

भेटमा एमसीसी विरुद्ध राष्ट्रवादी क्रान्तिकारी एक भएर लड्ने र आन्दोलनको बलमा यसलाई खारेज गर्ने विषयमा कुराकानी भएको थियो । ‘भेटवार्तामा क्रान्तिकारी ध्रुवीकरणलाई निष्कर्षमा लाने र जनताको आमूल परिवर्तनको आकांक्षालाई ध्यानमा दिएर समाजवादी व्यवस्था निर्माणको पहल गर्ने गरी छलफल भएको विप्लव निकट स्रोतले भनेको छ । सत्ताको प्रमुख साझेदार एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग विप्लवले बुधबार नै भेटवार्ता गरेका थिए ।

एमसीसी पारित भएको विरोधमा विप्लवसहित आठ दलले फागुन २० गतेदेखि चैत ६ गतेसम्म विरोधका कार्यक्रम घोषणा गरेका छन्। विप्लवसहित मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तीकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी समाजवादी लगायतका आठ दलले विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्।

यता, एमसीसी र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता नेपालको संघीय संसदबाट फागुन १५ गते अनुमोदन भएको सम्झौतालाई स्वीकार गरेको एमसीसी मुख्यालयले जनाएको हो । यस्तो अवस्थामा एमसीसी विरुद्ध सडक संघर्ष गर्ने साना कम्युनिष्ट घटकहरुको संघर्षले कति सार्थकता पाउने हो त्यो भने हेर्न बाँकी छ ।