पुँजीगत खर्च घटाउने बढाउने जिम्मा अर्थ मन्त्रालयको होइन : जनार्दन शर्मा(भिडियो अन्तरवार्ता) - रुपान्तरण
 २०७९ मंसिर १४, बुधबार    

पुँजीगत खर्च घटाउने बढाउने जिम्मा अर्थ मन्त्रालयको होइन : जनार्दन शर्मा(भिडियो अन्तरवार्ता)


अर्थमन्त्री जनार्दन शर्मा उत्पादनमुखी अर्थतन्त्रको पक्षमा छन् । कोरोना महामारीले थिलथिलो भएको अर्थतन्त्रलाई उकास्न र अर्थतन्त्र चलयामान राख्न आफू कटिबद्ध रहेको बताउँदै आएका शर्मा यतिबेला अर्थतन्त्रमा समस्या नभएको साथै चलायमान रहेको दाबी गर्छन् । यसअघि गृह र ऊर्जा मन्त्रालय सम्हालिसकेका शर्मा पार्टीभित्र पनि प्रभावशाली मानिन्छन् ।

२०७४ सालमा शेरबहादुर देउवाकै कार्यकालमा गृहमन्त्री भएका उनी पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीकालमा शर्मा ऊर्जामन्त्री भएका थिए। २०७३ साउन ३० मा ऊर्जामन्त्रीमा नियुक्‍त शर्माले लोडसेडिङ मुक्त गरी उज्यालो नेपाल बनाउने अभियानबाट उनले खुबै ताली पाएका थिए । हाल पनि अर्थ मन्त्रालय सम्हालिसकेपछि अर्थतन्त्रलाई ब्यापक रुपमा सुधार गरेर लगेको दाबी गर्दै आइरहेका छन् । उनीसँग बर्तमान अर्थतन्त्रको अवस्थाबारे हामीले कुराकानी गरेका छौं ।

मन्त्रीज्यू अर्थतन्त्रमा मन्दी आएको हो ?

अर्थतन्त्रमा मन्दी आएको छैन । अर्थतन्त्रमा ब्यापक चलायमान भएको छ । लकडाउनले दुई बर्षमा कुनै ब्यावसाय अघि नबढीरहेको सन्दर्भमा पछिल्लो समयमा सबै आर्थिक क्रियाकलाप बढेको छ । ऋण लगानी र आयातको क्षेत्रमा ब्यापक बृद्धि भएको छ । उद्योग र आन्तरिक पर्यटकहरुले पर्यटन क्षेत्रले गति लिन थालेको छ । कोरोनाको प्रभावले संकटमा परेका व्यवसायीहरु फेरी अर्को कोभिडको लहर नहोस भन्ने पक्षमा छन् । त्यसैले यतिबेला अर्थतन्त्र चलायमान हुन थालेको छ ।

सामान्य नागरिकहरुले यतिबेलाको अर्थतन्त्रमा विश्वास त गरिरहेका छैनन् ।

यतिबेला आयातमा बढी खर्च भइरहेको छ । आन्तरिक रुपमा पुर्नकर्जा जुन व्यवस्था गरेका थियौं । आन्तरिक ऋणको मात्रामा धेरै लगानी भएको छ । पछिल्लो समयमा बैंकहरुमा तरलताको अवस्था देखिएकाले त्यसलाई व्यवस्थापन गरेका छौं । रेमिट्यान्स आउन पनि केही समस्या देखिएको छ । उतै डाइभर्ट हुन थालेको देखिन्छ । यसमा हुन्डी र डिजिटल नेटवर्किङले समस्या देखिएको हो । यसलाई सरकारले गम्भीर रुपमा हेरेको छ ।

लकडाउनको समयमा रेमिट्यान्स बढेको तथ्यांक देखिएको थियो । के कारणले होला ?

फर्मल च्यानलबाट आउँदा रेमिट्यान्स बढेको देखिन्छ । अहिले विदेश जानेको संख्या बढे पनि फर्मल च्यानलबाट नआउँदा रेमिट्यान्स घटेको देखिन्छ । फर्मल च्यानलमार्फत नआउनेहरुलाई विभिन्न सुविधाहरुको व्यवस्थापन गर्ने तयारीमा छौं । फर्मल च्यानलबाट ल्याउने प्रयास जारी छ ।

त्यसोभए नेपालको अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको छ भन्दा हुन्छ ?

यो साँचो हो । रेमिट्यान्समुखी अर्थतन्त्र छ हाम्रो । त्यसैले यतिबेला हामी उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने र देशलाई आत्मनिर्भर बनाउने प्रक्रियामा छौं । आन्तरिक राजश्वबाट देश चल्न सक्ने अवस्थाको विकास गर्नु जरुरी छ ।

विदेशमा जानेहरुको अवस्था अस्तब्यस्त छ । जान खोजिरहेकाहरु जान सकिरहेका छैनन् । यसतर्फ कस्तो ब्यवस्थापन गरिरहनु भएको छ ?

व्यस्थापन भन्दा पनि मुख्यकुरा भनेको युवाहरुलाई स्वदेशमै रोजगारी दिनुपर्छ भनेर काम गरिरहेका छौं । विकास निर्माण, उद्योग र कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्ने पक्षमा छौं । पर्यटन क्षेत्रमा रोजगारीको अवसर धेरै रहेकाले यतिबेला उत्पादनमुखी अर्थतन्त्रको विकासमा केन्द्रीत छौं ।

त्यसोभए रेमिट्यान्सलाई निरुत्साहित गर्ने भन्ने हो ?

उद्देश्य निरुत्साहित गर्ने भन्ने नै हो । तर हामीले पर्याप्त रोजगारी दिन सकिरहेका छैनौं । दिनदिनै विदेशका लागि युवाहरुको लाम लागेको देखिन्छ । त्यसैले राष्ट्र निर्माणका लागि सरकार, राजनीतिक दल, युवाहरु समृद्ध देश निर्माणमा लगाउनुपर्छ ।

पुँजीगत खर्च बढाउन मन्त्रालयको भूमिका के छ ?

पुँजीगत खर्च घटाउने बढाउने जिम्मा अर्थ मन्त्रालयको होइन । अर्थ मन्त्रालयले त स्रोत व्यवस्थापन गर्ने हो । आफैं खर्च गर्ने होइन । खर्च गर्ने निकायहरुमा स्रोत व्यवस्थापन गर्ने हो । स्रोत व्यवस्थापन गर्ने सवालमा कुनै कमी भएको छैन । जस्तो बजेटमा कतिपय कुरा उल्लेख छ तर बजेट छैन । त्यसमा व्यवस्थापन गरेका छौं । पुँजीगत खर्च गर्ने कुरा विभिन्न मन्त्रालय र निकायहरुको हो । गतबर्ष यतिबेलासम्म १४ प्रतिशत पुँजीगत भएको थियो । यसपाली १३ प्रतिशत खर्च भएको छ । यसको अन्त्यसम्म जाँदा बढी भन्दा बढी खर्च हुन्छ ।

तपाइँ उर्जामन्त्री हुँदा लोडसेडिङ अन्त्य भयो । त्यसलाई चमत्कार भनियो । अब अहिले अर्थमन्त्री हुनुहुन्छ के चमत्कार गर्दै हुनुहुन्छ ?

चमत्कार त्यतिबेला पनि भएको थिएन । अहिले पनि हुँदैन । त्यतिबेला मैंले जुन टीम निर्माण गरें, सचिब अनुप उपाध्ययलगायतको टीम जसले निर्णय प्रक्रियामा ठूलो सहयोग गर्नुभयो । मैंले साहसका साथ लोडसेडिङ अन्त्य गर्ने घोषणा गरें । आफैंप्रति चुनौति खडा गरें । त्यसको कहाँ समस्या छ भनेर अध्ययन गरें र समाधान गर्ने प्रयत्न गरें । त्यसलाई कार्यान्वयन गर्न कुलमानलाई ल्याएँ र राम्रो टीम मिल्यो । समस्या समाधान भयो । अहिले पनि आर्थिक क्षेत्रमा चमत्कार हुने होइन तर मैंले दृढता र प्रतिवद्धता त्यही स्तरमा छ । अहिले नै परक्यापिटा इन्कम दोब्बर हुने त होइन । अहिले सात प्रतिशत बृद्धि गर्ने लक्ष्य राखिएको थियो तर बेमौसमी बर्षा भएर तहसनहस गरायो । भौतिक पूर्वाधार क्षति भयो, धान उत्पादनमा गिरावट आयो । त्यसपछि कोभिड तेस्रो लहरले धक्का दिएको छ । प्राकृतिक प्रकोपले संकट निम्त्याएको छ । तर पनि आर्थिक विकासलाई सकरात्मक दिशातर्फ लाने प्रयास भइरहेको छ ।