जनताको घर घरमा पुग्ने चुनावी अभियानमा कांग्रेस - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

जनताको घर घरमा पुग्ने चुनावी अभियानमा कांग्रेस


काठमाडौं । नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो ।

बुधबार पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म सो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

अभियानका क्रममा कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भइ लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदाताहरूलाई अपिल गर्ने तथा कांग्रेसका नेता, कार्याकर्ताहरूलाई एकतावद्ध बनाएर परिचालन गर्ने उनले बताए । त्यस्तै सो अवधिमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथमा पार्टीको सबै संरचनालाई पूर्णता दिइने भएको छ ।

प्रवक्ता महतका अनुसार कांग्रेसले हालसम्म गरेको राजनीतिक तथा आर्थिक उपलब्धीहरूलाई जनताको माझमा राख्ने, कांग्रेसले वर्तमान सरकारको नेतृत्व गर्नुपर्नाको कारण र यसअघिको सरकारले गरेका गैरसंवैधानिक काम तथा भ्रष्टाचारहरूको सम्बन्धमा जनतालाई सुसुचित गराउने लक्ष्य राखिएको छ ।

प्रवक्ता महले एमसीसी सम्झौताको सम्बन्धमा अन्य राजनीतिक दलहरूले फैलाएको भ्रमको सम्बन्धमा पनि जनतालाई सुसुचित गर्नका लागि प्रशिक्षणसमेत सञ्चालन गर्ने बताए । एमसीसी नेपालको आवश्यकता र हितमा रहेको कुरा जनतालाई कांग्रेसले स्पष्ट रूपमा बुझाउने उनले उल्लेख गरे ।

अभियान सफल पार्नका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने भएको छ । फागुन २९ गते सबै जिल्लाबाट अभियानको शुभारम्भ गरिने प्रवक्ता महतले बताए । अभियानलाई सफल बनाउन पार्टी प्रदेश कमिटी र जिल्ला कमिटीले कार्ययोजना बनाउने उनको भनाइ छ । स्थानीय कमिटीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयार गर्ने पनि प्रवक्ता महतले जानकारी दिए ।