चुनाव चिन्हमा हरियो मसी प्रयोग हुँदा झस्कियो एमाले - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

चुनाव चिन्हमा हरियो मसी प्रयोग हुँदा झस्कियो एमाले


काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतपत्रमा चुनाव चिन्ह हरियो मसीको छपाइ गर्ने निर्वाचन आयोगको निर्णयप्रति नेकपा एमाले आक्रोशित छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका आफूविरुद्ध लागेको निष्कर्षमा पुगेको एमाले निर्वाचन आयोगप्रति पनि सशंकित बनेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन खोजेको आरोप समेत लगाउन भ्याइसकेका छन् । मोरङको रंगेलीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उनले बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनाए पनि कांग्रेस नबौरिने टिप्पणी गरे । अध्यक्ष ओलीले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिए ।

सोमबार आयोगले मतपत्र छपाइमा हुने चिन्ह, विवरण तथा सुरक्षण चिन्हहरू हरियो मसीले छपाइ गर्ने निर्णय गरेपछि प्रतिपक्षी एमाले रुष्ट बनेको हो । अध्यक्ष ओलीले आँखा कमजोर हुनेहरूले रुखै रुख देखोस् भन्ने हेतूले आयोगले यस्तो गरेको हुनसक्ने आशंका गर्दैै यो कदम सच्याउन आग्रह गरे ।

आयोगले विगतका कतिपय निर्वाचनको अभ्यासलाई हेरेर विवादास्पद नबन्ने हेतुले यस पटक हरियो रङ प्रयोग गर्ने निर्णय भएको तर्क गरेको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्याल, यसअघि पनि आयोगले हरियो रङको प्रयोग गरेको बताउँछन् । एमालेले आफ्नो प्रतिस्पर्धी कांग्रेसलाई ठानेको छ र रङकै आधारमा मतदान प्रभावित हुन्छ भन्नेमा शशंकित छ ।

यता, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष ओलीले मतपत्रमा चुनाव चिह्नको रङ हरियो राख्न थालेकोमा कांग्रेसप्रति कटाक्ष गरेको घटनाप्रति भने,‘अहिले एउटा उखान चलेको छ । विभाजित कम्युनिष्ट पार्टी हेरियो देख्दा तर्सिन्छ रे ।’

आगामी वैशाख ३० गते हुने एकै चरणको निर्वाचनका लागि राजनीतिक दलहरू चुनाव केन्द्रीत गतिविधिमा जुटिरहँदा आयोगले निर्वाचनका लागि ८० दलले दिएको निवेदन उपर जाँचबुझको काम गरिरहेको छ ।