प्रचण्ड-माधव जंगे थिए, अहिले बुंगे भए - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

प्रचण्ड-माधव जंगे थिए, अहिले बुंगे भए


पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्च अदालतले ढाल्ने काम गरेको आरोप लगाएका छन् । सर्वोच्च कसैले नपत्याउने गरि गोरु ब्याएको टिप्पणी पनि उनले गरे ।

प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई पोखरामा शुक्रबार सम्बोधन गर्दै उनले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गरेका हुन् ।

उनले आफूहरुले परमादेशको समर्थन गर्न नसक्ने पनि बताए। अध्यक्ष ओलीले, ‘संविधान बाहिर नगइ हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौँ कि एउटा जननिर्वाचित सरकारलाई ढालेका छौँ । नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । तर नेपालमा एकपल्ट एक जनाले भनेका थिए–गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा ब्यायो । उहिल्यै ०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पायो ।’

ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भएका बेला जंगे बनेका पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल अहिले बुंगे भएको टिप्पणी गरे । उनले एकताबद्ध नहुँदा के हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै ओलीले, ‘प्रचण्डलाई दशा लाग्यो । माधव नेपाललाई पनि दशा लाग्यो। त्यहि भएर हुँदाखाँदाको एकताबद्ध छाडेर पार्टी विभाजित गरे । त्यसबेला जंगे थिए, अहिले बुंगे भए ।’ प्रचण्ड र माधवले अहिले कांग्रेसको आश गरेर बस्नुपरेको भन्दै उनले थपे,‘अहिले ढोका बाहिर चिहाएर बस्छन्, कतै ढोकाबाहिर प्रसाद ल्याउँछन् कि भनेर ।’

अध्यक्ष ओलीले आफू सरकारमा हुँदा गरेका कामलाई सञ्चारमाध्यमले सही तरिकाले नलेखेको बताए । धरहरा र रानीपोखरी बनाएपनि संचारमाध्यमले सहिरुपमा नलेखेको बताए ।