अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा, बैंकको ब्याज १६ प्रतिशतसम्म पुग्न सक्ने - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा, बैंकको ब्याज १६ प्रतिशतसम्म पुग्न सक्ने


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । उनले केही वस्तुको आयातमा मार्जिन राख्नु परेपनि स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्ने पनि बताए । अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न वस्तु आयातमा सीमा निर्धारणको व्यवस्था गरिएको दावी गरे ।

काठमाडौंमा भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै आइतबार मन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्नुपर्ने बताए ।

राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न मातहतका अधिकारीहरुलाई उनले निर्देशन समेत दिएका छन् । व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीलाई उनले निर्देशन दिए ।

भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म ३ खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भएपनि आयातमा गरिएको कडाईकै बीच तीन खर्ब ८ अर्ब राजस्व संकलन गरिएको जानकारी दिए ।

त्यस्तै आइतबार नै विराटनगर पुगेका मन्त्री शर्माले बैंकको ब्याज १६ प्रतिशतसम्म पुग्न सक्ने बताए । मोरङ व्यापार सङ्घमा आबद्ध व्यवसायीहरुसँगको भेटमा बैंकको ब्याज १६ प्रतिशतसम्म पुग्न सक्ने बताएका हुन्। व्यवसायीहरुसँग भेट्दा उनले व्याजदर थप महँगिन सक्ने बताउँदै यसका लागि नियोजित रुपमा चाल चालिएको समेत बताए ।

व्यवसायीहरुले ब्याज चर्को भएकाले यसलाई घटाउन पहलका लागि गरेको आग्रहको प्रत्युत्तरमा उनले भने, ‘कतैबाट सरकारलाई विफल बनाउने सुनियोजित चाल भइरहेको छ। मैले कसैको नाम लिइरहनु पर्दैन। तपाईंहरू आफैँ बुझ्नुहुन्छ। त्यस ठाउँबाट बैंकको ब्याज १६ प्रतिशतसम्म पुर्‍याउने योजनाअनुसारले काम भइरहेको छ।’

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै बैंक ब्याजदर बढ्ने गरी नीतिगत कडाइ गरेको थियो। यस्तै, विभिन्न पाँच शीर्षकका ऋणको जोखिम भार पनि बढाइदिएको थियो। त्यसले आगामी असरबाट बैंकहरुको ऋणको लागत समेत बढाउँदै छ। यसले बैंकहरुको नयाँ लगानी विस्तारको क्षमता पनि खुम्च्याइदिनेछ। पूर्वका व्यापारीहरुसँगको भेटमा मन्त्री शर्माले बैंकिङ प्रणाली र तरलता व्यवस्थापनमा केही निर्णयगत र संरचनागत समस्या भएको पनि बताए।