राणामाथिको महाभियोग अन्योलमा - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

राणामाथिको महाभियोग अन्योलमा


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग के हुन्छ भन्ने चासो देखिएको छ ।

सरकारको सिफारिससँगै मंगलबार राति १२ बजेदेखि लागु हुने गरी संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य भएसँगै महाभियोगबारे चासो भएको हो । बुधबारका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । तर, सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरि अधिवेशन अन्त्य गरिदिएपछि महाभियोगबारे अलमल बढेको हो ।

बुधबारको बैठकमा प्रधानन्यायाधीश राणाविरुद्ध पेस भएको महाभियोग प्रस्तावबारे छलफल गर्ने र महाभियोग सिफारिस समितिमा पठाउने तयारी थियो । प्रधानन्यायाधीशविरुद्धको महाभियोग सिफारिस समितिमा पठाएको भए संसद अन्त्य भए पनि छानबिन प्रक्रिया अगाडि बढ्न सक्थ्यो तर प्रकृया नै शुरु नभएका कारण यसबारेको केही प्रकृया पनि अघि नबढ्ने भएको हो । संसदमा सामान्य छलफल नै नभई अधिवेशन अन्त्य भएपछि राणाविरुद्धको महाभियोग सिफारिस समितिमा पठाउने प्रक्रिया रोकिएको छ ।

महाभियोग दर्ता भएसँगै राणा हाल निलम्बित अवस्थामा छन् । प्रतिनिधि सभा नियमावलीअनुसार महाभियोग सिफारिस समितिले कारबाही प्रारम्भ गरेको बढीमा तीन महिनाभित्र सिफारिस सहितको प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्नुपर्ने व्यवस्था छ । तर प्रकृया सुरु नहुँदा समस्या देखिएको छ ।

अब आगामी अधिवेशनमा मात्र यसबारेको छलफल प्रकृया सुरु हुने छ । आगामी अधिवेशन बजेट अधिवेशन हुनेछ । उक्त अधिवेशनमा महाभियोगमाथि प्रतिनिधि सभामा छलफल हुने र समितिमा पठाइने छ । जेठ १५ गते संघीय संसद्मा बजेट पेस गर्नुपर्ने र त्यसको १५ दिन अगावै प्रिबजेट छलफल गरिसक्नुपर्ने भएकाले आगामी वैशाख मध्यतिर संसद अधिवेशन आह्वान हुन सक्ने सम्भावना देखिएको छ ।